सार्कका अर्थमन्त्रीको बैठकमा सार्क आर्थिक संयन्त्रलाई गतिशिल बनाउन नेपालको प्रस्ताव
काठमाडौं।दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको छ ।
मनिलास्थित एशियाली विकास बैंक ९एडीबी०को प्रधान कार्यालयमा बुधबार भएको बैंकको ५३ औँ वार्षिक बैठकका सन्दर्भमा सार्क सचिवालय र एडीबीको समन्वयमा अप्रत्यक्षरुपमा बुधबार भएको उक्त बैठकमा नेपालले संयन्त्रको क्रियाशीलता तथा कोभिड–१९ को प्रभावबाट मुक्त हुन सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी अभिवृद्धि अपरिहार्य वास्तविकता औँल्याएको हो ।
अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बैठकमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महामारी रोकथाम, नियन्त्रण र उपचारमा सबै सदस्य मुलुक सक्रिय रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्र सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्न सकिने बताए। “सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनरुत्थान रणनीति निर्धारण, निर्धन र रोजगारी गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधारका साथै उनीहरुको मनोसमाजिक समस्या सम्बोधन गर्नुपर्ने आवश्यकता छ ”, उनले भने।
बैठकमा मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नाका साथै त्यसको अध्यक्षता पनि गरेका थिए। नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा एडीबीको संस्थापक सदस्य हो ।
सार्कका महासचिव इसाला विराकुनले दक्षिण एशियाली अर्थतन्त्रको पुनरुत्थानका लागि सदस्य मुलुकबीच समन्वय गर्न सचिवालय प्रतिबद्ध रहेको बताइन्। रासस
