२४ अर्बको बन्ड निष्काशन गर्ने तयारीमा कृषि विकास बैंक
काठमाडौँ – कृषि विकास बैंकले २४ अर्ब बराबरको कृषि बन्ड निष्काशन गर्ने तयारी गरेको छ । मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्था भएपछि बैंकले बन्ड निष्काशन गर्न लागेको हो । यसका अहिले आन्तरिक तयारी भईरहेको बैंकका प्रबक्ता हिमलाल पौडेलले बताए । उनले भने अहिले हामीले आन्तरिक तयारी गरिरहेका छौ, नियामकसँग पुरा गरिनु पर्ने प्रक्रिया भईरहेको छ, आर्थिक बजार चलायमान भएपछि बन्ड निष्काशन गर्ने बैंकले जनाएको छ ।
अहिले आर्थिक बजार चलायमन नभएको अवस्थामा बन्ड निष्काशन गरेर अर्थ नहुने भन्दै उनले आर्थिक गतिविधि बढेपछि बन्ड निष्काशन हुने बताए । उनका अनुसार बैंकले पहिलो चरणमा करिब ५(६ अर्बको मात्र बन्ड निष्काशन गर्ने तयारी गरेको छ । तर अझै पनि यो छलफलको विषय नै रहेकोले कति चरणमा कति बन्ड निष्काशन गर्ने भन्नेबारे टुंगो लागि नसकेको बताए । बन्ड खरिद गर्ने बैंकले निश्चित ब्याज पनि प्राप्त गर्छ । ब्याजदर पनि टुंगो लागि नसकेको उनले बताए । बैंकले निष्काशन गर्ने बन्डमा बाणिज्य बैंकले मात्र आवेदन दिन पाउने छन् । कुनै पनि व्यक्तिगत लगानीकर्ताले यसमा आवेदन दिन सक्ने छैनन् । अन्य बैंकहरुले बन्ड खरिद गर्दा आएको रकमलाई बैंकले कृषि क्षेत्रमा लगानी गर्ने छ । यदि कुनै बैंकले कृषि क्षेत्रमा राष्ट्र बैंकले तोकिएको अनुसारको रकम लगानी गरेका छैनन् भने उनीहरुले बैंकको बन्ड खरिद गरेर कृषिमा लगानी बढाउन सक्ने छन् ।
उदाहरणको लागि यदि कुनै बैंकले कृषि क्षेत्रमा डेढ अर्ब लगानी गर्नु पर्ने थियो तर उसले १ अर्ब मात्र लगानी गरेको छ भने उसले कृषि विकास बैंकले निष्काशन गरेको ५० करोड बराबरको बन्ड खरिद गर्न सक्छ। उसले बन्ड खरिद गरेसंगै उसको कृषिमा लगानी डेढ अर्ब नै मानिने छ । किनभने उसले दिएको ५० करोड कृषि विकास बैंकले कृषिमा नै लगानी गर्ने छन् । अर्थात् यसरी ऋणपत्रमा भएको लगानी बैंकले कृषि कर्जामा गणना गर्न पाउने छ । सिधा अर्थमा बुझ्दा यो ऋण खरिद गरे जस्तै हो । हाल वाणिज्य बैंकहरूको लगानीमा रहेको कुल कर्जाको १० प्रतिशत प्राथमिकता क्षेत्रअन्तर्गत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।
