शेयर कारोबारमा देखिएका सवै समस्या एक हप्ताभित्र समाधान गर्न नेप्सेलाई निर्देशन
काठमाडौं ।अर्थमन्त्रालयले शेयर कारोबारमा देखिएका सवै समस्या एक हप्ताभित्र समाधान गर्न नेप्सेलाई निर्देशन दिएको छ । सोमबार बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकारी चन्द्रसिंह साउदसँग भएको छलफलमा मन्त्रालयले नेप्सेलाई उक्त निर्देशन दिएको हो ।
पछिल्लो समय नेप्सेको टीएमएस प्रणालीमा बारम्बार समस्या देखिएकाले अर्थमन्त्रालयले सोमबार बोर्ड र नेप्सेका प्रमुखलाई छलफलमा डाकेको थियो । गत बिहीबार र आइतबार लगातार उही समयमा टीएमएस प्रणालीमा समस्या आएको र सेयर कारोबार अवरुद्ध भएकाले लगानीकर्ताले गुनासो गरेसँगै अर्थमन्त्रालयले सोमबार उक्त कदम चालेको हो ।
यससँगै आगामी आइतबार (असोज ४ गते) देखि नियमित सेयर कारोबारहरु गराउन, आउने दिनहरुमा सफ्टवेयर तथा हार्डवेयरहरुलाई अपग्रेड गराउन समेत मन्त्रालयले निर्देशन दिएको बोर्डका अध्यक्ष ढुङ्गाना बताएका छन् ।
यसका साथै, ब्रोकरको टीएमएसमा आउने समस्यालाई व्यवस्थित गर्ने निर्णय भएको छ । यद्यपि, गत बिहीबार र आइतबारको समस्या भने ब्रोकरकोमा नभइ नेप्सेमा मात्रै भएको उनले जानकारी दिए ।
कार्यक्रममा नेप्सेका सीईओ साउदले बिहीबारसम्म सबै समस्या समाधान भई आइतबारदेखि सेयर कारोबारमा समस्या नआउने प्रतिवद्धता जनाएका छन् ।
गत बिहाबार र आइतबार खुलेको दुबै दिनको बजारमा टीएमएस प्रणालीमा समस्या आएको थियो । र, सेयर कारोबार पनि करिब दुई घण्टासम्म रोकिएको थियो । पछि समस्याको समाधान आएपछि नेप्सेले कारोबार समयको अवधि थप गरेर साँझ सवा ५ बजेसम्म सेयर बजार खुलाएको थियो ।
उता सीडीएससीले पनि गत बिहीबारको सेयर कारोबारको राफसाफ तत्कालको लागि स्थगित गरेको छ । जुन काम सोमबार९आज० नै हुनुपर्ने थियो ।
