घर जग्गा कारोबारको नियमित ट्रेण्ड, धितो राखेर ऋण लिने भन्दा तिर्ने बढी
काठमाडौं। गत महिना किनबेचको तुलनामा जग्गा रोक्का राख्नेको संख्या बढि रहेको मा साउन लागेपछि भने रोक्का राखिएका जग्गा फुकुवा गर्नेको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ।साउन महिनाको सुरुवाती कारोबारको ट्रेण्ड हेर्दा १ हजार घरजग्गा रोक्का (जग्गा धितो राखेर ऋण लिने) को काम हुँदा करिब एक हजार ३०० घरजग्गा फुकुवा (ऋण तिरेर जग्गा आफ्नो नाममा ल्याउने) को काम भएको छ।
असारको तथ्यांक हेर्दा दैनिक औसत ५०० वटा भन्दा बढी घर जग्गा फुकुवा हुँदा १ हजार बढी घर जग्गा रोक्का र २ हजार बढी घरजग्गा किन बेच हुने गरेका थिए। साउन महिनाको सुरुवातमा भने रोक्का भन्दा फुकुवाको संख्या बढी देखिएको हो। रोक्का राख्ने भन्दा फुकुवा गर्नेको संख्या दैनिक १०० जना भन्दा बढी देखिएको हो।
असार महिनाको अन्तिम ३ दिनमा ७ हजार ३०० घर जग्गा किनबेच हुनुका साथै २ हजार ८०० घरजग्गा रोक्का र १ हजार ८०० घरजग्गा फुकुवाको काम भएको थियो। साउन लागेपछि भने जम्मा २ हजार ४०० मात्रै घर जग्गा किनबेच भएका छन्।जुन असार अन्तिममा एक दिनमा किनबेच हुने घरजग्गाको संख्या भन्दा पनि कम हो।
असारमा दैनिक करिब २५० घरजग्गा किनबेच गराउने मालपोत कार्यालयहरुले पनि साउन लागेपछि भने ६० देखि ७० भन्दा बढी किनबेच गराउनसकेका छैनन्। मालपोतका जनकपुर, इनरुवा, विराटनगर, वीरगंज, झापा र धनगढी लगायतका कार्यालयले असारमा दैनिक १०० देखि २५० वटा सम्म घरजग्गा किनबेच गराइरहेका थिए।अहिले भने यी कुनै पनि कार्यालयले १०० वटा भन्दा बढी घरजग्गा किनबेच गराउन नसकेको विभागको तथ्यांक छ।
साउन लागेपछि घरजग्गा धितो राखेर ऋण लिने क्रममा ब्रेक लागेको छ।असारमा भने यसरि ऋण लिने क्रम निकै बढेको थियो। तीन महिना लामो लकडाउनका कारण ऋण स्वीकृत गराइसकेका बैंक तथा वित्तीय संस्थाले लकडाउन सहज हुने बित्तिकै जग्गा रोक्का राख्न हतार गर्दा सुरुवाती दिनमा किनबेच भन्दा धितो राख्नेको संख्या बढी देखिएको थियो। साउन लागेपछि भने सुरु देखिनै ऋण लिनेको संख्यामा कमि देखिएको छ भने बैंक तथा वित्तीय संस्थामा नयाँ ऋणको माग गर्ने व्यक्ति तथा कम्पनीको संख्यामै कमि आएका कारण धितो कारोबार घटेको मालपोत कार्यालयले जनाएका छन्।
