बैंकहरूले धमाधम घटाउन थाले ब्याजदर
काठमाडौं । नयाँ आर्थिक वर्ष शुरू भएसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको र कर्जा लगानी हुन नसकेका कारण कर्जाको ब्याजदर कटौती गर्नुपर्ने बाध्यातामा बैंकहरू छन् । राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन दबाब दिइरहेको छ ।
अहिलेसम्म दर्जन वाणिज्य बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, माच्छापुच्छ्रे बैंकले नयाँ आर्थिक वर्षसँगै कोभिड प्रभावित व्यवसायीलाई विभिन्न सहुलियतमा कर्जा उपलब्ध गराउने योजना सहित ब्याजदर सार्वजनिक गरेका हुन् । लक्ष्मी बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)लगायत एक दर्जन वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले १ साउनबाटै लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । लक्ष्मी बैंक र सनराइज बैंकले भने ५ साउनबाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसैगरी, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), साउन ६ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले साउन ७ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर लागू गरेको छ ।
