दुई हजारमा परीक्षण असम्भवः निजी प्रयोगशाला
काठमाडौँ —कोरोना भाइरसको संक्रमण रहेरनरहेको पुष्टि गर्नका लागि गरिने आरटी–पीसीआर परीक्षण गर्ने अनुमति पाएका १३ मध्ये १२ वटा निजी प्रयोगशालाहरुले सरकारले आइताबार घटाएर कायम गरेको शुल्क २ हजार रुपैयाँमा परीक्षण गर्न नसक्ने बताएका छन् ।
सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् ।
केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् ।
