कोरोना रोकथाम कोषमा महालक्ष्मी बैंकको ५० लाख सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
बैंकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख र विभिन्न स्थानीय क्षेत्रमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरूमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरूमा शाखासँग समन्वय गरी वितरण गरिने बैंकले जनाएको छ ।
