महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण
पोखरा – पोखराका महिला पर्यटन व्यवासायी मञ्च ओटेफले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण गरेको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड १९, ले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको बताउनुभयो । उहाँले सरकारले भ्रमण वर्ष— २०२० लाई घोषणा गरेपछि पर्यटन क्षेत्रमा व्यवसायीले करौडौ लगानी बढाएको र लगानी डुब्ने अवस्थामा रहेको धारणा राख्नुभयो । सरकारले पनि पर्यटन क्षेत्रमा परेको असर अवस्थालाई मिल्ने सम्मको सहयोग गरेको उहाँले भनाइ थियो । पर्यटन व्यवसायी महिलाहरुले पर्यटन क्षेत्रमा गर्दै आएको सामाजिक कार्यसँगै संकटको अवस्थामा मजदुरको समस्यालाइ बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले व्यवसायी महिलाले कोभिड —१९, को असरमा परेका पर्यटन मजदुरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा पछिल्लो दिनहरु निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाउदै समस्यामा सजगताका साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।
