मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित
मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित बनेका छन्। उद्यमी व्यवसायी तथा बैकरहरूले समग्रमा मौद्रिक नीति राम्रो भएको बताएका छन् । कोरोनाले गरिबी निवारण र रोजगारी सिर्जना गर्न चुनौती थपिरहेका बेला मौद्रिक नीतिले आशा पलाएको निजी क्षेत्रको भनाइ छ।
कोभिड प्रभावित उद्यमी व्यवसायीलाई कर्जाको पुनःतालिकीकरणदेखि सहुलियत ऋण, नगद लाभांश वितरणमा अंकुश, सीसीडी रेसियो सीमा बढाएको, मर्जरलाई सहुलियतसम्मका विषय वस्तु समेटेकोले समग्रमा मौद्रिन नीति राम्रो छ। मौद्रिक नीतिले साना तथा मझौला उद्योग क्षेत्रमा कर्जा प्रवाहमा प्राथमिकता दिएकोमा उद्यमशीलता बढ्ने निजी क्षेत्रको भनाइ छ।मौद्रिक नीतिले रोजगारी र कृषि क्षेत्रमा प्राथमिकता दिएको छ।बैंक तथा वित्तीय संस्थालाई कृषिमा १५ प्रतिशत प्रतिशत अनिवार्य कर्जाको व्यवस्था गर्दा कृषिमा कर्जा प्रवाह बढ्नेछ ।
मौद्रिक नीतिले ब्याज र कर्जा तिर्ने म्याद एक वर्षसम्म पुर्याएको छ। कोरोनाले अति प्रभावित भएकालाई १ वर्षसम्म, प्रभावित परेकालाई ९ महिनासम्म र सामान्य प्रभावित भएकालाई ६ महिनाको समयको व्यवस्थाका कारण उद्योगी व्यवसायीलाई राहत मिलेको छ। मौद्रिक नीतिले लघु, घरेलु तथा साना उद्योगमा पुनर्कर्जा सुविधा उपलब्ध गराएको छ।
