मौद्रिक नीति ः साना तथा मझौला कर्जामा छुट
काठमाडौँ । केन्द्रीय बैंकले पर्यटन, लघु, साना एवं मझौला उद्यम कर्जा प्रवाहमा विशेष छुटसहित प्राथमिकता दिएको छ । साउन २ गते सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाको सङ्कटबाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिने नीति अगाडि सारिएको छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधीन आयोजना निर्माण सम्पन्न गर्न पूँजीको अभाव भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण दिने व्यवस्था नीतिले गरेको छ । मौद्रिक नीतिअनुसार वाणिज्य बैंकले २०८१ असार मसान्तसम्म लघु, साना एवं मझौला उद्यममा रु एक करोडभन्दा कमका ऋण आफ्नो कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
