लकडाउनले प्रत्यक्ष–अप्रत्यक्षरुपमा कम्तिमा ५० लाखले गुमाए रोजगारी
काठमाडौं-कोरोना महामारीको असर विस्तारै देखिन थालेको छ । चैत ११ गतदेखि साउन ७ गतेसम्मको कडाउन र त्यसपछिको निरन्तरको निषेधाज्ञाले उद्योग व्यवसाय चौपट बन्दा धेरैको गाँस मात्र खोसिएन धेरैले आफ्नो व्यवसायबाट सधैका लागि पलायन समेत हुनु परेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार यो अवधिमा आर्थिक क्षेत्रमा नराम्रो अशर परेको छ । यसको परिपूर्तिकालागि अव लामो समय लाग्न सक्नेछ ।
घरेलु तथा साना उद्योगको अभिलेख अनुसार नेपालमा घरेलु तथा साना उद्यमको संख्या ९ लाख १९ हजार छ । तर कोरोना भाइरसको महामारी नेपालमा सुरु भए लगत्तै लगाइएको लकडाउन र निषेधाज्ञाका कारण १ लाख ८४ हजार उद्योगहरु बन्द भएको अनुमान गरिएको छ । त्यसमध्ये २० प्रतिशत उद्योगका फर्कनै नसक्ने गरी सधैका लागि बन्द भएका छन् ।
लकडाउन र निषेधाज्ञामा परेको असर राष्ट्रबैंकको तथ्यांकमा यस्तो छः
६१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द
शिक्षण संस्थाहरू ९५ प्रतिशत बन्द
होटल तथा रेष्टुरेन्ट ९१ प्रतिशत बन्द
घरजग्गालगायत कारोबार ८९ प्रतिशत ठप्प
यातायात तथा भण्डारण ७६ प्रतिशत ठप्प
निर्माण ५८ प्रतिशत बन्द
उद्योग तथा प्रतिष्ठानहरुको यो हाल हुँदा करिब ५० लाख मजदुर तथा कर्मचारीले रोजगारी गुमाएको अनुमान गरिएको छ । यी मध्ये साना तथा मझौला व्यवसायले ४४ लाख मानिसलाई रोजगारी दिएको अनुमान पनि उद्यमीहरुको छ ।
यी मध्ये धेरै उद्योग प्रतिष्ठान ढिला गरी असोज १ गते सञ्चालनमा आए पनि शिक्षण संस्थाहरुमाथिको प्रतिबन्ध अझै कायम छ ।
